२०८३ साउन १४ गते बिहिवार

दाङमा १८ हजारभन्दा बढीले पाए नयाँ नागरिकता

दाङ, १४ साउन । जिल्ला प्रशासन कार्यालय दाङले गत आर्थिक वर्ष २०८२/८३ मा १८ हजार ७९ जनालाई नयाँ नेपाली नागरिकता प्रदान गरेको छ। नयाँ नागरिकता प्राप्त गर्नेहरूमध्ये १८ हजार ९ जनाले वंशजका आधारमा नागरिकता लिएका छन्। यस्तै, २२ जनाले आमाको नामबाट नागरिकता प्राप्त गरेका छन् भने ३४ जनाले वैवाहिक अङ्गीकृत, १० जनाले अङ्गीकृत तथा १४ जनाले गैरआवासीय नेपाली नागरिकता पाएका छन्। प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेका अनुसार जिल्ला प्रशासन कार्यालय घोराहीबाट छ हजार ६७०, इलाका प्रशासन कार्यालय तुलसीपुरबाट सात हजार १५५ र इलाका प्रशासन कार्यालय लमहीबाट चार हजार २५४ जनालाई नयाँ नागरिकता वितरण गरिएको हो।

गत आर्थिक वर्षमा कार्यालयले १४ हजार ७३७ वटा नागरिकताको प्रतिलिपिसमेत जारी गरेको छ। तीमध्ये घोराहीबाट पाँच हजार १७९, तुलसीपुरबाट सात हजार २६७ र लमहीबाट दुई हजार ७९१ वटा प्रतिलिपि वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी दिनुभयो। त्यसैगरी, सोही अवधिमा ४१९ जनालाई नाबालक परिचयपत्र वितरण गरिएको छ भने १७ हजार २२२ वटा राहदानी जारी गरिएको कार्यालयले जनाएको छ। जारी गरिएका राहदानीमध्ये घोराहीबाट सात हजार ५७९, तुलसीपुरबाट पाँच हजार ६२७ र लमहीबाट चार हजार १६ वटा वितरण भएका छन्। राष्ट्रिय परिचयपत्रतर्फ गत आर्थिक वर्षमा ७१ हजार ४७० जनाको विवरण दर्ता गरिएको छ भने पाँच हजार ८५५ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ। दर्ता गरिएका विवरणमध्ये जिल्ला प्रशासन कार्यालय घोराहीबाट ३३ हजार ५०२, इलाका प्रशासन कार्यालय तुलसीपुरबाट २६ हजार ६० र इलाका प्रशासन कार्यालय लमहीबाट ११ हजार ९०८ जनाको विवरण संकलन गरिएको कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २०८३ साउन १४ गते बिहिवार
प्रतिक्रिया