तुलसीपुर,१४ साउन । तुलसीपुर उपमहानगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको लगत संकलनका लागि आवेदन दिन आह्वान गरेको छ। जिल्ला भूमि समस्या समाधान समिति दाङको पत्र अनुसार जेन्जी आन्दोलनका क्रममा आगजनी वा तोडफोडका कारण नष्ट भएका अभिलेख तथा विवरण अद्यावधिक गर्ने उद्देश्यले साउन १५ गतेदेखि २१ दिन सम्म लगत संकलन कार्य सञ्चालन गरिने भएको छ।
यस अवधिमा सम्बन्धित लाभग्राहीले आवश्यक कागजातसहित आफ्नै वडा कार्यालयमा सम्पर्क गरी आवेदन दिनुपर्ने सूचनामा उल्लेख गरिएको छ। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका लागि छुट्टाछुट्टै आवश्यक कागजात तोकिएको छ। परिवारमूलीको नागरिकता, परिवारका सदस्यहरूको विवरण, नाता प्रमाणित, जग्गा तथा उपयोग सम्बन्धी प्रमाण, बैंक खाता विवरणलगायतका कागजात पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। तुलसीपुर उपमहानगरपालिकाले तोकिएको समयभित्र आवश्यक कागजातसहित आवेदन दर्ता गरी लागत संकलन कार्यमा सहभागी हुन सम्बन्धित सबै सरोकारवालालाई आग्रह गरेको छ।





