काठमाडौं, १४ साउन । निरन्तर वर्षासँगै राजधानीको माइतीघरमा आन्दोलनरत लघुवित्त पीडितहरूले सडकमै रात बिताएका छन्। सर्वोच्च अदालतको परमादेश कार्यान्वयनको माग गर्दै आन्दोलनमा उत्रिएका उनीहरूमध्ये ४२ जना सामूहिक आमरण अनशनमा बसेका छन्।मंगलबारदेखि सुरु भएको आमरण अनशनमा देशका विभिन्न जिल्लाबाट आएका करिब डेढ सय पीडित सहभागी छन्। अनशनमा नबसेका आन्दोलनकारीहरूले पनि सडकमै खाना खाएर आन्दोलनलाई निरन्तरता दिएका छन्।
अविरल वर्षाका बीच त्रिपाल र प्लास्टिकको सहारामा रात कटाउन बाध्य बनेका पीडितमध्ये केहीले सामान्य ओतसमेत पाएनन्। धेरैजना पसलका सटरअगाडि रहेको पेटीमै चिसो र झरी सहँदै रात बिताएको दृश्य माइतीघर क्षेत्रमा देखिएको थियो।लघुवित्त पीडितहरूको भनाइअनुसार सर्वोच्च अदालतले सरकार, नेपाल राष्ट्र बैंक र लघुवित्त बैंकर्स संघबीच भएको सहमति कार्यान्वयन गर्न परमादेश जारी गरिसकेको छ। तर, त्यसको कार्यान्वयनमा सरकार उदासीन बनेपछि बाध्य भएर आमरण अनशनसहितको आन्दोलन सुरु गरिएको उनीहरूको आरोप छ।
लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीसहित विभिन्न जिल्लाका प्रतिनिधिहरू आमरण अनशनमा सहभागी छन्।लामो आन्दोलनको तयारीसहित देशभरिबाट माइतीघर पुगेका पीडितहरूले चामल, ग्यास सिलिन्डर, सिरक–डस्नालगायत दैनिक आवश्यक सामग्रीसमेत आफैं बोकेर ल्याएका छन्। सरकारले आफ्ना माग सम्बोधन नगरेसम्म आन्दोलन नरोकिने संघर्ष समितिका उपाध्यक्ष मिनप्रसाद चौलागाईंले बताएका छन्।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।