तुलसीपुर, १२ साउन । दाङ जिल्लामा पछिल्ला केही महिनादेखि खाना पकाउने एलपी ग्यासको चरम अभाव हुँदा उपभोक्ता समस्यामा परेका छन् । नियमित आपूर्ति हुन नसक्दा उपभोक्ताले घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता छ भने ग्यास व्यवसायीले समेत सहज रूपमा सेवा दिन सकिरहेका छैनन्। तुलसीपुर सहित जिल्लाका अधिकांश ग्यास डिलरहरू अभाव हुँदा दिनभर पसलको सटर बन्द गरेर बस्न बाध्य छन्। तुलसीपुर क्षेत्रका ग्यास विक्रेता पसलहरुमा ग्यास आउने सूचना पाउन साथ उपभोक्ताहरू सिलिन्डर बोकेर पसल अगाडि लामो लाइन लाग्ने गरेको पाईन्छ । कतिपय अवस्थामा ग्यास पसलमा झार्न नपाउँदै वितरण सुरु गर्नुपर्ने बाध्यता बनेको छ।
तुलसीपुर स्थित डाइनामिक ट्रेडका सञ्चालक लालबहादुर केसीले उपभोक्ताको भीड व्यवस्थापन गर्न ट्रकबाट ग्यास वितरण गर्नु भएको छ । ग्यासको सीमित आपूर्ति भएकाले सबै उपभोक्ताको माग पूरा गर्न कठिन भइरहेको उहाँले बताउनुभयो। ग्यास आउने खबर पाउने वित्तिकै उपभोक्ताहरू बिहानैदेखि लाइनमा बस्ने गरेका कारण पसलसम्म ग्यास पुर्याएर व्यवस्थापन गर्न समेत समस्या हुने गरेको उहाँको भनाइ छ।
लामो समयदेखि बजारमा ग्यास अभावका कारण एकातिर सर्वसाधारणले दैनिक उपभोगको अत्यावश्यक वस्तुका लागि सास्ती खेपिरहेका छन् भने अर्कोतर्फ व्यवसायीले नियमित व्यापार गर्न नसक्दा आर्थिक तथा व्यवस्थापकीय समस्या भोग्नु परेको व्यवसायीहरुको गुनासो छ ।
उपभोक्ताले तत्काल ग्यास आपूर्ति सहज बनाउन सम्बन्धित निकायले ध्यान दिनुपर्ने माग गरेका छन्।





