दाङ, १२ साउन । कर्णाली सरकारले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ । नयाँ मुख्यमन्त्रीको दाबीका लागि आज बेलुका ५ बजेसम्मको समयसीमा तोकिएको छ । प्रदेश प्रमुख यज्ञराज जोशीले गत शनिबार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाका सदस्यलाई आज साँझ ५ः०० बजेभित्र मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।
प्रदेश प्रमुख जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम उक्त आह्वान गरेका हुन् । शनिबार मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिनुभएको थियो ।
नयाँ मुख्यमन्त्रीका लागि नेकपा संसदीय दलका नेता मङ्गलबहादुर शाहीले दाबी पेस गर्ने तयारी भएको छ । त्यसका लागि आवश्यक तयारी भइरहेको नेकपा स्रोतले बताएको छ । गत शनिवार केन्द्रमा नेकपा एमाले र नेकपाबिच प्रदेशमा सत्ता समीकरण गर्ने सहमती भएसँगै कर्णाली नेकपाको भागमा परेको थियो ।शाही आज कर्णालीको पाचौँ मुख्यमन्त्रीका रूपमा नियुक्त हुँदैछन् ।





