२०८३ साउन १० गते आइतवार

तुलसीपुर–३ मा सहाराविहीन बनेका दुई बालकलाई नवज्योति सांस्कृतिक युवा क्लबको सहयोग

तुलसीपुर, १० साउन ।  दाङको तुलसीपुर उपमहानगरपालिका–३ कल्लेमा रहेको नवज्योति सांस्कृतिक युवा क्लबले अभिभावकविहीन बनेका दुई बालकलाई खाद्यान्न तथा नगद सहयोग गरेको छ । क्लबका अध्यक्ष धनराज रोकाको नेतृत्वमा गएको टोलीले पीडित परिवारको घरमै पुगेर १६ हजार ५ सय ८५ नगदसहित चामल, तेललगायतका खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो । केही वर्षअघि बुवा कमल पुनको निधन भएपछि आमाको सहारामा रहेका दुई बालकले हालै आमासमेत गुमाएका हुन् । विषालु च्याउ खाँदा आमा दीपा पुनको दुःखद निधन भएपछि उनीहरू पूर्णरूपमा अभिभावकविहीन बनेका छन् । दुवै अभिभावकको निधनपछि बालकहरूको शिक्षा, पालनपोषण तथा दैनिक जीवनयापनमा समस्या देखिएको छ ।

उनीहरूको अवस्थाबारे जानकारी पाएपछि देश तथा विदेशमा रहेका नेपालीहरूबाट समेत सहयोग जुटिरहेको छ । विभिन्न व्यक्ति, संघसंस्था तथा सामाजिक अभियन्ताहरूले आफ्नो क्षमताअनुसार सहयोग गर्दै आएका छन् । तर बालकहरूको भविष्य सुरक्षित गर्न निरन्तर सहयोग आवश्यक रहेकाले सहयोगी मन भएका व्यक्ति, संघसंस्था तथा देश–विदेशमा रहेका नेपालीहरूलाई सक्दो सहयोग गरिदिन अपिल गरिएको छ । सानो सहयोगले पनि अभिभावकविहीन बनेका बालकहरूको शिक्षा, पालनपोषण र भविष्य निर्माणमा ठूलो योगदान पुग्ने भएकाले सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरिएको छ ।।

प्रकाशित मिति : २०८३ साउन १० गते आइतवार
प्रतिक्रिया