२०८३ साउन ४ गते सोमवार

देशभर लगातार बर्षा, विपदको घटनामा परी ३ जनाको मृत्यु

फोटो फाईल

काठमाण्डौ, ३ साउन । बर्षा सुरु भएसंगै पछिल्नो समय देशका विभिन्न ठाउँमा लगातार वर्षा भइरहेको छ । वर्षाका कारण देशभर ५८ वटा घटना भएका छन् । बाढी र पहिरोको जोखिम रहेको भन्दै जोखिमपूर्ण ठाउँमा स्थानीय प्रशासनले सतर्कता अपनाएको छ । पछिल्लो २४ घण्टामा भएका ५८ वटा विपद्का घटनामा परेर ३ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाढीका कारण खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–६ घर भएकी ४३ वर्षीया शान्ता राई र कोपिलासगढी गाउँपालिका–४ घर भएका ७१ वर्षीय पर्शुराम परियारले ज्यान गुमाएका छन् ।

सर्पदंशका कारण दोलखाको भीमेश्वर नगरपालिका–२ स्थित डोकथलीमा ५५ वर्षीय भक्तबहादुर थामीको मृत्यु भएको प्रहरी प्रवक्ता -डीआईजी) अबिनारायण काफ्लेले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टाको अवधिमा विपदमा परेका १ जनाको प्रहरीले उद्धार गरेको छ । १३ जना घाइते भएका छन् । अविरल वर्षा, आगलागी, चट्याङ, बाढी र पहिरोका कारण २३ लाख ६६ हजार आर्थिक नोक्सानी भएको प्रहरीको आकलन छ । २०८३ वैशाख १ भन्दापछि विपद्का कारण १६८ जनाको मृत्यु भैसकेको छ । तीन महिनाको अवधिमा ९९४ जना घाइते भएका थिए । २ जना अझै बेपत्ता छन् । देशभर सो अवधिमा ३ हजार ४६३ विपद्का घटना भएका थिए । विपद्को कारण १ हजार १५ वटा चौपायाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन ३ गते आइतवार
प्रतिक्रिया