तुलसीपुर,२ साउन । दाङको तुलसीपुर उपमहानगरपालिका–३ बल्लेमा जंगली च्याउ सेवन गर्दा गम्भीर बिरामी परेका एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा तुलसीपुर ३ बल्ले बस्ने ३७ वर्षीया दिलमाया पुन रहनु भएको छ । गत असार ३२ गते जंगली च्याउ खादा पुन सहित अन्य चार बिरामी परेका थिए । राप्ती प्रादेशिक अस्पतालमा उपचारका आएका मध्ये पुनको थप उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा रिफर गरिएको थियो।
घोराहीमा उपचाररत पुनको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा आज शनिबार दिउँसो ४:२० बजे बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता तथा डिएसपी डा. हेम बहादुर केसीले जानकारी दिनुभयो ।
उहाका अनुसार च्याउ खादा अन्य चार जना बिरामी भने उपचारपछि डिस्चार्ज भएका छन् । यस घटनापछि जंगली तथा नचिनेको च्याउ सेवन नगर्न प्रहरीले सबैमा आग्रह गरेको छ । प्रहरीले अहिले जंगली च्याउको सिजन भएकाले चिनेर मात्र सेबन गर्न सबैमा अग्रह गरेको छ ।






