सल्यान, ३२ असार । बागचौर नगरपालिकाको १६औँ नगरसभा सम्पन्न भएको छ। नगरसभाले आर्थिक वर्ष २०८३/८४ का लागि रु. ७७ करोड २३ लाख ७५ हजार ३३० बराबरको बजेट, नीति तथा कार्यक्रम तथा आर्थिक विधेयक सर्वसम्मत रूपमा पारित गरेकोहो।
पारित बजेटअनुसार चालु खर्चतर्फ रु. ५५ करोड ७८ लाख ११ हजार २७९ तथा पुँजीगत खर्चतर्फ रु. २१ करोड ४५ लाख ६४ हजार ५१ विनियोजन गरिएको छ। दुवै शीर्षकको कुल बजेट रु. ७७ करोड २३ लाख ७५ हजार ३३० रहेको नगरसभामा जानकारी गराइएको थियो।नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममाथि विस्तृत छलफलपछि बजेट, नीति तथा कार्यक्रम र आर्थिक ऐन सर्वसम्मत रूपमा पारित गरिएको हो।
नगरपालिकाले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक पूर्वाधार, पर्यटन, रोजगारी सिर्जना, सामाजिक सुरक्षा तथा सुशासनलाई उच्च प्राथमिकतामा राख्दै विकास तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।
नगरपालिकाका अनुसार आगामी वर्षको बजेट स्थानीय आवश्यकता, दिगो विकास, उत्पादन वृद्धि, पूर्वाधार विस्तार तथा नागरिकमैत्री सेवा प्रवाहलाई केन्द्रमा राखेर तयार गरिएको हो। नगरसभाबाट पारित नीति तथा कार्यक्रमले बागचौर नगरपालिकाको समग्र विकासलाई थप गति दिने विश्वास व्यक्त गरिएको छ।






