२०८३ असार ३१ गते बुधवार

कर्णाली प्रदेशमा कांग्रेसका चारजना मन्त्रीले राजीनामा दिए(यस्तो छ कारण)

फोटो फाईल

दाङ, ३१ असार । कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट सरकारमा सहभागी चारजना मन्त्रीले राजीनामा दिएका छन्। प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले मुख्यमन्त्रीसमक्ष सामूहिक राजीनामा बुझाएका हुन्। तर, उनीहरूको राजिनामा स्वीकृत भइसकेको छैन। राजीनामा बुझाएर मार्गप्रशस्त गरेको सामाजिक विकासमन्त्री धनश्याम भण्डारीले बताउनुभयो । प्रदेश सरकारमा कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिकमा घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जामा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी सहभागी हुन भएको थियो ।

मन्त्रीहरुले राजीनामा बुझाए पनि पार्टीले भने एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन। एमालेका नेता यामलाल कँडेलले नेतृत्व गरेको सरकारमा कांग्रेसका मन्त्रीहरुले राजीनामा दिएका हुन् । एमालेका नेता कंगेल २०८० साल चैत २७ गते मुख्यमन्त्री नियुक्त हुनु भएको थियो। त्यतिबेला तत्कालीन माओवादीले समर्थन गरेको थियो । केन्द्रमा प्रचण्ड नेतृत्वको सरकार ढलेपछि कांग्रेस–एमालेले प्रदेश सरकारमा समेत गठबन्धन गरेका थिए । कँडेल मुख्यमन्त्री बन्दा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति दुई दलबीच भएको नेताहरुको भनाई छ । उक्त सहमति पालना नभएकाले राजीनामा दिएको मन्त्रीहरुले बताएका छन् ।

प्रकाशित मिति : २०८३ असार ३१ गते बुधवार
प्रतिक्रिया