२०८३ असार ३० गते मङ्गलवार

बिजौरीमा उपभोक्ता हित क्लबले गर्‍यो बजार अनुगमन

तुलसीपुर, ३० असार । तुलसीपुर उपमहानगरपालिका–१८ मा रहेको उपभोक्ता हित क्लबले आज बिजौरी बजारमा अनुगमन सम्पन्न गरेको छ। उपभोक्ताको स्वास्थ्य, सुरक्षा तथा बजार व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले गरिएको अनुगमनमा विभिन्न पसलहरूको अवस्था सूक्ष्म रूपमा परीक्षण गरिएको हो। अनुगमन टोलीको नेतृत्व वडा नं. १८ का अध्यक्ष माधव वली तथा सामुदायिक सिकाइ केन्द्र बिजौरीका अध्यक्ष केशव शर्माले गर्नुभएको थियो। अनुगमनका क्रममा बजार क्षेत्रका व्यवसायहरूको पसल दर्ता तथा नवीकरण, खाद्य सामग्रीको गुणस्तर, म्याद नाघेका वस्तु, अखाद्य तथा उपभोगका लागि अनुपयुक्त सामग्री, साथै उपभोक्ता हितसँग सम्बन्धित अन्य विषयहरूको समेत निरीक्षण गरिएको थियो।

अनुगमनका क्रममा व्यवसायीहरूलाई कानुनी प्रक्रिया पूरा गरी व्यवसाय सञ्चालन गर्न, म्याद नाघेका तथा गुणस्तरहीन सामग्री बिक्री नगर्न र उपभोक्तालाई सुरक्षित तथा गुणस्तरीय वस्तु उपलब्ध गराउन आग्रह गरिएको थियो। उपभोक्ता हित क्लबले यस्ता नियमित अनुगमन कार्यक्रमले बजारलाई थप व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। साथै आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिइने जनाइएको छ।

प्रकाशित मिति : २०८३ असार ३० गते मङ्गलवार
प्रतिक्रिया