काठमाण्डौ, २८ असार । आज र भोलि देशका केही ठाउँमा आरी घोप्टे र मुसलधारे वर्षाको सम्भावना छ ।कोशी, बागमती र गण्डकीका एकरदुई ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका थोरै ठाउँमा तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रको एक–दुई ठाउँमा ठूलोदेखि अति ठूलो वर्षाको सम्भावना छ ।
साथै तीन वटा प्रदेश कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रका एकरदुई ठाउँमा पनि अति ठूलो पानी पर्ने सम्भावना छ । लगातारको वर्षासँगै आकस्मिक बाढी, पहिरो, नदी कटान, गेग्रान बहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्ने भएकाले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन विपद् प्राधिकरणले अनुरोध गरेको छ । विशेष गरी खोला, खोल्सा र नदी आसपासको क्षेत्र, पहिरोको जोखिम भएका ठाउँका नागरिक तथा नदी किनारका बस्तीमा बसोबास गर्ने नागरिकलाई थप सतर्क रहन आग्रह गरिएको छ ।






