डोल्पा,२१ असार । डोल्पामा लेदोसहितको बाढी घर पस्दा एक महिलाको मृत्यु भएको छ। जिल्लाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि धुलाखोलामा आएको लेदोसहितको बाढीमा पुरिँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। आइतबार बिहान करिब ३ बजेतिर आएको बाढी घरहरूमा पस्दा स्थानीय अन्दाजी ५६ वर्षीया आनन्दा विक घर भित्र सुतिरहेको अवस्थामा पुरिएको प्रहरीले बताएको छ ।
प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी झ्याँकोट लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी अनिलराज गिरीले जानकारी दिनुभयो ।बाढीमा परी ६० वर्षीया जस विक, ४४ वर्षीया रेउली विक, १५ वर्षीया निरुता विक र १३ वर्षीया सिता विक घाइते भएका छन्। घाइतेमध्ये रेउली विकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि बाहिरी जिल्ला रिफर गरिएको डिएसपी गिरीले बताउनुभयो ।






