काठमाण्डौ,२० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाह नेतृत्वको सरकारले आज सय दिने उपलब्धि सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा आज शनिबार पत्रकार सम्मेलन गरी सरकारले गरेका कामहरूको समीक्षासहित सय दिनमा भएका उपलब्धिहरू सार्वजनिक गरेको छ । जेन्जी आन्दोलन पछि गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचन सम्पन्न पछि चैत १३ गते बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त हुनु भएको थियो ।
शाहको नेतृत्वमा गठित सरकारले सय दिनको एक सय वटा कार्यसुची बनाएको थियो । सोहि अनुसार आज शिक्षा मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोख्रेलले पत्रकार सम्मेलन मार्फत सरकारका उपलब्धीहरु सार्वजनिक गर्नुभएको हो । बालेन नेतृत्वको सरकारले २०४८ पछि सत्ता र शक्तिमा पुगेका उच्चपदस्थ अधिकारीहरूको सम्पत्ति छानबिनका लागि आयोग गठन, १ हजार ५९४ राजनीतिक नियुक्ति खारेज, कर्मचारी ट्रेड युनियन र विश्वविद्यालयबाट स्ववियु खारेजी, स्थानीय तहको प्रमुख प्रशासकीयको समस्या अन्त्य, सिंहदरबार र काठमाडौंका पहुँचवाला कर्मचारी विस्थापन, कानुनबमोजिम सुविधा पाउनेबाहेकका कर्मचारीको सवारी सुविधा कटौती, सहकारी समस्या समाधानको पहल र सरकारी र सार्वजनिक जग्गा फिर्ताको प्रयासलाई सरकारले आफ्नो उपलव्धिका रुपमा समेटेको बताइएको छ ।
मन्त्रालयको संख्या कटौती र अनावश्यक दरबन्दी हटाउने प्रयास, सेवाप्रवाहमा सुधारका कदम र प्रक्रियागत झन्झट घटाउने थालनी, कानुन सुधार प्राथमिकतामा र सयभन्दा बढी कानुन संशोधन गृहकार्य, भ्रष्टाचार र वित्तीय अपराधमा आक्रामक छानबिन, सेवाप्रवाह र निर्णय प्रक्रियामा सुधार तथा कर्मचारी सरुवामा पहिलोपटक अनलाइन प्रणालीको थालनी लगायतका कार्यलाई सरकारले उपलब्धीका रुपमा लिएको प्रवक्ता पोख्रेलले बताउनुभयो ।






