कन्चनपुर,१८ असार । कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। कञ्चनपुर जिल्ला अदालतको फैसला कार्यान्वयनका क्रममा जिल्ला प्रहरी कार्यालयको टोलीले उहालाई बिहीबार बिहान भीमदत्त नगरपालिका–१८ कटानबाट नियन्त्रणमा लिएको हो। कञ्चनपुर जिल्ला अदालतले १ जेठ २०८२ मा निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणसँग जोडिएको एक गाली बेइज्जती मुद्दामा भण्डारीलाई दोषी ठहर गरेको थियो।
जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले उनलाई उक्त कसुरमा एक महिना कैद सजाय सुनाएको थियो। कैदका साथै उहालाई १० हजार रुपैयाँ जरिवाना र एक लाख रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला समेत अदालतले गरेको थियो। यो मुद्दा निर्मला पन्त प्रकरणसँग जोडिएको छ। उक्त घटनामा तथ्यहीन रूपमा आफ्नो नाम जोडेर समाचार लेखेको भन्दै कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक -एसपी) दिल्लीराज बिष्टका छोरा किरण बिष्टले भण्डारी विरुद्ध मुद्दा दायर गर्नुभएको थियो ।
मुद्दा दायर गर्ने किरण बिष्ट स्वयं पनि पत्रकार हुन् र उनी राष्ट्रिय समाचार समितिमा कार्यरत छन्।२०७५ साउन १० गते साथीको घरमा पढ्न जान्छु भनी निस्केकी भीमदत्त नगरपालिकाकी निर्मला पन्त भोलिपल्ट निम्बुखेडा खोला किनारको उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन्। बलात्कारपछि हत्या गरिएको भनिएको घटना प्रकरणका वास्तविक आरोपी भने अझैसम्म पहिचान हुन सकेका छैनन्। जसले गर्दा घटना रहस्यमय बन्दै गएको छ ।






