२०८३ असार १४ गते आइतवार

दाङसहित विभिन्न स्थानमा बर्षा

तुलसीपुर, १४ असार ।  दाङसहित देशका विभिन्न स्थानमा आज बिहानबाट वर्षा भएको छ । यसअघि अत्यधिक गर्मी हुँदै आएकोमा अब केही शीतलता हुने अपेक्षा गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र तथा गण्डकी प्रदेशका केही र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको प्रभाव फैलिएको छ । अन्य क्षेत्रमा भने पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । महाशाखाले गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशभर आगामी तीनदेखि चार दिनभित्र मनसुन विस्तार हुने सम्भावना रहेको जनाएको छ । हाल सुदूरपश्चिम प्रदेशको तराई क्षेत्र मुख्यतया सफा रहे पनि देशका अधिकांश भूभागमा आंशिक बदली रहेको छ । कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ । पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना रहेको छ । तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । विशेषगरी कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ । यसपाली देशमा मनसुन भित्रिएको एक हप्तासम्म पनि कमजोर रहिरहेका बेला आउँदो बुधवारदेखि देशभर ठुलो वर्षाको संभावना रहेको मौसमविद्ले बताएका छन् । धान रोपाइँका लागि आकासे पानीको भर पर्नेहरुका लागि केही दिनको वर्षाका कारण आउँदो शुक्रवार उपयुक्त हुने मौसमविद्को भनाई छ ।।

प्रकाशित मिति : २०८३ असार १४ गते आइतवार
प्रतिक्रिया