२०८३ असार १३ गते शनिवार

तुलसीपुरमा अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ

दाङ,  १३  असार ।  दाङको तुलसीपुरबाट प्रहरीले अवैध रूपमा राखिएको भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आज शनिबार दिउँसो करिब ३ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका–४ हरियाली टोल निवासी ४२ वर्षीय डम्मर बहादुर विकले अवैध हातहतियार लुकाइ राखेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक टोपेन्द्र बुढा मगरको नेतृत्वमा प्रहरी टोली खटिएको थियो ।

प्रहरीले विकलाई सोधपुछ गर्ने क्रममा उनकै घरमा लुकाइछिपाइ राखिएको अवस्थामा ४ फिट ३ इन्च लम्बाइको एकनाले भरुवा बन्दुक फेला पारी बरामद गरेको जनाएको छ । बरामद गरिएको भरुवा बन्दुक आवश्यक कानुनी प्रक्रिया पूरा गरी मुचुल्कासहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका विकलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखिएको छ भने हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।।

प्रकाशित मिति : २०८३ असार १३ गते शनिवार
प्रतिक्रिया