छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधी खुवाइयो

लक्ष्मण विश्वकर्मा , तुलसीपुर १५ कात्तिक । सरकारको राष्ट्रिय कार्यक्रम अन्र्तगत बुधवार र विहिवार दुई दिन सम्म देशैभर भिटामिन ए तथा जुकाको औषधि खुवाईएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईएको हो । हिजो छुटेका बालबालिकालाई विहिवार पनि भिटामिन ए तथा जुकाको औषधि खुवाईएको छ । छ महिनादेखि पाँच वर्षसम्मका २७ लाख बालबालिकालाई भिटाभिन ए खुवाउनका लागि देशभर ६० हजार स्वास्थ्यकर्मीहरु परिचालन गरिएको बताईएको छ । यता तुलसीपुर उपमहानगर स्वास्थ्य महाशाखाका अनुसार तुलसीपुर उपमहानगर क्षेत्रमा २ सय वढि महिला स्वास्थ्य स्वंयम सेविकाहरु परिचालन गरीएको थियो ।
जसमा प्रत्येक वडामा स्वंयम सेविकाहरु खटिएका थिए । वडामा पर्ने स्वास्थ्य चौकी, नगर स्वास्थ्य केन्द्र र तुलसीपुर स्वास्थ्य महाशाखाले अनुगमन तथा व्यवस्थापनमा आबश्यक सहयोग गरेको तुलसीपुर उपमहानगर स्वास्थ्य महाशाखाका सुरक्षित मातृत्व कार्यक्रमका फोकल पर्सन बसन्त आचार्यले जानकारी दिएका छन् । साथै उनले सरकारको कार्यक्रम भएकाले उक्त मितिमा कोहि छुटेको भए तुलसीपुर उपमहानगर स्वास्थ्य महाशाखामा शुक्रवार पनि भिटामिन खुवाईने जानकारी दिएका छन् ।
यस्तै तुलसीपुर वडा नम्वर ५ की महिला स्वास्थ्य स्वंयम सेविका पार्वती थापाले वडा अन्र्तगत राप्ती अन्चल अस्पताल अगाडी सम्पर्क स्थानबाट पाँच सय वढि बालवालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाएको जानकारी दिएकी छिन् । बालबालिकालाई सङ्क्रमक रोगहरुबाट बचाउन, निमोनिया तथा झाडापखालाको प्रकोपबाट जोगाउन, रोगप्रतिरोधि क्षमता बढाई बाल मृत्यु दर घटाउन, आँखा सम्बन्धि रोगबाट बचाउनका लागी भिटामिन ‘ए’ खुवाउने गरिन्छ ।

प्रकाशित मिति : २०७५ कार्तिक १५ गते बिहिवार
प्रतिक्रिया