२०८३ असार ८ गते सोमवार

तुलसीपुर उपमहानगरले ल्यायो झण्डै साढे २ अर्ब बजेट

तुलसीपुर, ८ असार ।  दाङको तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि २ अर्ब ४४ करोड ९५ लाख ९१ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । उपमहानगरले कृषि उत्पादन वृद्धि, शिक्षा तथा स्वास्थ्य सेवाको सुदृढीकरण, पूर्वाधार विकास, खानेपानी, युवा तथा खेलकुद, सुशासन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर बजेट ल्याएको हो । उपमेयर स्यानी चौधरीले नगरसभामा प्रस्तुत गरेको बजेटअनुसार कुल विनियोजित बजेटमध्ये चालुतर्फ १ अर्ब ३९ करोड ६० लाख २१ हजार रुपैयाँ (५६ प्रतिशत), पुँजीगततर्फ १ अर्ब १ करोड ३८ लाख २८ हजार रुपैयाँ (४२.३५ प्रतिशत) तथा वित्तीय व्यवस्थातर्फ ४ करोड रुपैयाँ (१.६५ प्रतिशत) विनियोजन गरिएको छ । जसमा आन्तरिक स्रोतबाट ५४ करोड, स्थानीय तह राजस्व बाँडफाँटसहित मालपोत रजिस्ट्रेसनबाट २४ करोड, ढुङ्गा, गिटी, विज्ञापन करबाट १५ लाख आम्दानी हुने लक्ष्य लिइएको छ ।

सङ्घीय सरकारको समानीकरण अनुदान २८ करोड ७७ लाख, ससर्त अनुदान ६७ करोड २३ लाख, समपूरक अनुदान ६० लाख, सङ्घीय विशेष अनुदान ८८ लाख र राजस्व बाँडफाँट सङ्घतर्फ २४ करोड नौ लाख ५७ हजार, प्रदेश सरकारबाट ससर्त अनुदान दुई करोड दुई लाख ५० हजार, समपूरक अनुदान एक करोड ५० लाख, विशेष अनुदान २० लाख, राजस्व बाँडफाँट प्रदेश दुई करोड ४१ लाख ८६ हजार, सडक बोर्डबाट एक करोड, नगर विकाश कोष दुई करोड दस लाख गरी कुल दुई अर्ब ४४ करोड ९५ आम्दानी हुने लक्ष्य राखिएको छ । बजेटले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ । कृषि क्षेत्र विकासका लागि खेती योग्य जमिन तथा बस्ती र संरचना संरक्षण गर्न तटबन्धन गर्न २ करोड रुपैयाँ विनियोजन गरिएको छ भने कृषि एम्बुलेन्स सञ्चालनका लागि ६० लाख रुपैयाँ छुट्याइएको छ । किसानले उत्पादन गरेका कृषि उपजको न्यूनतम समर्थन मूल्य सुनिश्चित गर्न अनुदान कार्यक्रमसमेत सञ्चालन गरिने उल्लेख गरिएको छ । शिक्षा क्षेत्र सुधारका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ । गुणस्तरीय, विद्यार्थीमैत्री तथा प्रविधिमैत्री शिक्षामा जोड दिँदै विद्यालय पूर्वाधार विकास र शैक्षिक गुणस्तर अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

स्वास्थ्य क्षेत्रतर्फ स्वास्थ्य पुर्वाधार निर्माणका लागी १ करोड बजेट विनियोजन भएको छ । गरिब विपन्न दिर्घरोगीलाई निसुल्क उपचारका लागी ५० लाख विनियोजन गरिएको छ । साथै स्वास्थ्य, पोषण, सरसफाइ तथा खानेपानी सेवामा नागरिकको पहुँच विस्तार गर्ने नीति लिइएको छ । सडक मर्मत, स्तरोन्नति तथा ओभरले कार्यक्रमका लागि २ करोड रुपैयाँ रुपैयाँ विनियोजन गरिएको छ । पूर्वाधार विकासतर्फ नगरले अन्य धेरै क्षेत्रमा ठूलो लगानी गर्ने भएको छ । खानेपानी क्षेत्रतर्फ खानेपानी तथा सरसफाईका लागी १ करोड विनियोजन गरिएको छ । सामाजिक सुरक्षा तथा समावेशी विकासलाई समेत बजेटले प्राथमिकता दिएको छ ।

विपन्न वर्गका छात्रछात्रालाई छात्रवृतीका लागी करोड रुपैयाँ, भूमिहीन व्यवस्थापन कार्यक्रमका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । उपमहानगरले आगामी आर्थिक वर्षमा डिजिटल सुशासन, सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, सामाजिक उत्तरदायित्व तथा भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने जनाएको छ । सो अवसरमा मेयर टिकाराम खड्का, प्रमुख प्रशासकिय अधिकृत केशवराज पार्धे, विभिन्न शाखाका कर्मचारी, जनप्रतिनिधि, नगरले सहकारी, निजी तथा सरकारी क्षेत्रको सहकार्यमा उत्पादन र उत्पादकत्व वृद्धि गर्दै कृषि तथा पशु व्यवसायको आधुनिकीकरण, पर्यटन प्रवद्र्धन, साना तथा मझौला उद्योग विकास, सीपमूलक तालिम तथा रोजगारी सिर्जनामार्फत स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने लक्ष्यसहित बजेट सार्वजनिक गरेको हो ।।

प्रकाशित मिति : २०८३ असार ८ गते सोमवार
प्रतिक्रिया