२०८३ असार ३ गते बुधवार

तुलसीपुरमा लागू पदार्थ दुव्र्यसनी न्यूनीकरणका लागी सचेतना, मेयर खड्काद्वारा प्रहरीलाई लापसे चेक गर्ने किट हस्तान्तरण

तुलसीपुर, ३ असार ।  दाङको तुलसीपुर उपमहानगरपालिकाले लागू पदार्थ दुव्र्यसनी नियन्त्रण तथा न्यूनीकरणका लागि विद्यार्थी लक्षित सचेतना कार्यक्रम सञ्चालन गरेको छ । तुलसीपुरस्थित मावि सेन्टर स्कुलमा आयोजित कार्यक्रममा लागू पदार्थको प्रयोगबाट हुने शारीरिक, मानसिक तथा सामाजिक असरबारे जानकारी गराइएको हो । तुलसीपुर उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाको आयोजनामा भएको कार्यक्रममा नगर युवा परिषद् तुलसीपुर उपमहानगरपालिकाले समन्वय तथा सहकार्य गरेको थियो । नगर युवा परिषद्का अध्यक्ष प्रकाश रावतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको प्रमुख आथित्यतामा भएको कार्यक्रममा बोल्दै मेयर खड्काले लागू पदार्थ दुव्र्यसन समाजका लागि गम्भीर चुनौतीको विषय बनेको उल्लेख गर्नुभयो । यसको रोकथामका लागि परिवार, विद्यालय, समुदाय र राज्यका निकायबीच समन्वय आवश्यक रहेको बताउदै उहाँले युवापुस्तालाई कुलतबाट जोगाउन सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने बताउँदै विद्यार्थीलाई सही बाटोमा डोर्‍याउन अभिभावक र शिक्षकको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो ।

“लागू पदार्थ दुव्र्यसनले व्यक्तिको भविष्य मात्र होइन, परिवार र समाजलाई समेत क्षति पुर्‍याउँछ,” उहाँले भन्नुभयो, “युवालाई कुलतबाट बचाउन सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्छ ।” सोही अवसरमा मेयर खड्काले लागू पदार्थ सेवन गरी सवारी साधन चलाए–नचलाएको पहिचान गर्न प्रयोग हुने ड्रग टेस्ट किट इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीलाई हस्तान्तरण गुर्नुभएको छ । किट ग्रहण गर्दै डिएसपी पराजुलीले उक्त उपकरणको प्रयोगबाट अब तुलसीपुर क्षेत्रमा लागू पदार्थ सेवन गरेर सवारी साधन चलाउने चालकको पहिचान गर्न सहज हुने बताउनुभयो । उहाँले सडक सुरक्षासँगै लागू पदार्थ नियन्त्रण अभियानमा पनि यसले प्रभावकारी सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमका प्रशिक्षकसमेत रहेका डिएसपी पराजुलीले लागू पदार्थको प्रयोगले युवाको स्वास्थ्य, शिक्षा, पारिवारिक सम्बन्ध तथा भविष्यमा पार्ने नकारात्मक प्रभावबारे जानकारी गराउनुभएको थियो । उहाँले विद्यार्थीलाई लागू पदार्थबाट टाढा रहन तथा त्यस्ता गतिविधिबारे जानकारी पाएमा प्रहरीलाई सूचना दिन आग्रह गर्नुभयो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत विमल केसी र सुरेश रावत लगायतको उपस्थिति रहेको थियो । सहभागी विद्यार्थीहरूले लागू पदार्थ दुव्र्यसनका कारण र त्यसबाट बच्ने उपायबारे जिज्ञासा राखेका थिए । कार्यक्रमले विद्यार्थीमा लागू पदार्थ दुव्र्यसनप्रति सचेतना अभिवृद्धि गर्नुका साथै सुरक्षित र स्वस्थ समाज निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।।

प्रकाशित मिति : २०८३ असार ३ गते बुधवार
प्रतिक्रिया