२०८३ जेष्ठ ३१ गते आइतवार

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा घिमिरे र महामन्त्रीमा उपाध्याय निर्वाचित

फोटो फाईल

दाङ, ३१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित हुनुभएको छ । रास्वपा लुम्बिनी प्रदेशको हिजो घोराहीमा सम्पन्न भएको प्रथम अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि निर्वाचन भएको थियो । पहिलो चरणको निर्वाचनमा सभापति पदका लागि ६ जना बीच भएको प्रतिस्पर्धामा घिमिरेले सबैभन्दा बढी १९९ मत प्राप्त गर्नुभएको थियो । उहाले प्रतिस्प्रर्धीहरु मध्ये सबैभन्दा बढि मत प्राप्त गरेता पनि जम्मा खसेको मतमा ५१ प्रतिशत मत नपाएपछि निकटतम प्रतिस्पर्धी गोपाल घिमिरेसँग दोस्रो चरणको निर्वाचन गर्ने भनिएको थियो ।

तर गोपालले घिमिरेलाई समर्थन जनाएपछि निर्वाचन नगरी सभापतिमा उहालाई निर्वाचित भएको घोषणा गरिएको रास्वपाका नेता डा.बुद्धिप्रसाद शर्माले बताउनुभयो । रुपन्देहीका घिमिरेले १९९, अर्घाखाँचीका गोपाल घिमिरेले ८७, रुपन्देहीका गणेश पौडेलले ८४, बाँकेका डा.राजकुमार सुवेदीले ८०, रुपन्देहीकी मञ्जु भुसालले ७१ र रुपन्देहीका मधुप्रसाद अर्यालले सबैभन्दा कम १९ मत प्राप्त गर्नुभएको उहाले जानकारी दिनुभयो । यस्तै महामन्त्रीमा सि.एम. उपाध्याय सर्वसहमत निर्वाचित हुनु भएको छ ।

मतदानमा ८४३ मतदाता रहेकोमा ५५२ मत मात्र खसेको थियो । नेताहरुका अनुसार प्रदेश उपसभापती ,दुई सहमहामन्त्री र कोषाध्यक्ष पदमा सहमति जुटाउने प्रयास भइरहेको छ । अधिवेशनमा आएका अधिकांश प्रतिनिधिहरु घर फर्किसकेको हुदा बाकी पदहरुमा सहमती मार्फत चयन गर्ने तयारी भईरहेको उहाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८३ जेष्ठ ३१ गते आइतवार
प्रतिक्रिया