तुलसीपुर, ३० जेठ । दाङको तुलसीपुरमा ९५ जनाले रक्तदान गरेका छन् । विश्व रक्तदाता दिवसको अवसर पारेर नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम तुलसीपुरको आयोजनामा आज भएको बृहत् रक्तदान कार्यक्रममा ९५ जनाले रक्तदान गरेका हुन् । “रक्तदान जीवनदान, आत्मज्ञान अति महान, सेवा गर्नु हाम्रो अभियान” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, युवा, महिला तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो । नेपाल मानव धर्म सेवा समिति राप्ती भेरी प्रभारी महात्मा चादना बाइजीको अध्यक्षता तथा तुलसीपुर–६ का वडाअध्यक्ष दुजमान भण्डारीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा सहभागी रक्तदाताहरूले स्वेच्छिक रूपमा रक्तदान गर्दै मानव जीवन बचाउने अभियानमा योगदान पु¥याएका हुन् ।
रगतको अभावका कारण बिरामीहरूले उपचारमा कठिनाइ भोग्नुपरेको वर्तमान अवस्थामा रक्तदान कार्यक्रमले अस्पताल तथा ब्लड बैंकमा आवश्यक रगत आपूर्तिमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ । रक्तदानबाट संकलित रगत दुर्घटनामा परेका, शल्यक्रिया गर्नुपर्ने, प्रसूति सेवा लिइरहेका तथा विभिन्न रोगका बिरामीहरूको उपचारमा उपयोग हुने नेपाल रेटक्रस सोसाइटी तुलसीपुरले बताएको छ । कार्यक्रममा बोल्दै सहभागीहरूले रक्तदान मानवताको सबैभन्दा ठूलो सेवामध्ये एक भएको उल्लेख गर्दै स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले रक्तदानले अरूको जीवन बचाउनुका साथै दाताको स्वास्थ्य परीक्षणसमेत हुने भएकाले यसबारे जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताएका छन् ।
विश्व रक्तदाता दिवसलाई सार्थक बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा पहिलो पटक रक्तदान गर्ने युवादेखि नियमित रक्तदाता सम्मको उल्लेखनीय सहभागिता देखिएको थियो । नेपाल मानव धर्म सेवा समितिले रक्तदाताहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ । विश्व रक्तदाता दिवस प्रत्येक वर्ष जुन १४ मा मनाइने गरिन्छ । दिवसको पूर्वसन्ध्यामा आयोजित यस कार्यक्रमले समाजमा रक्तदानप्रति सकारात्मक सन्देश प्रवाह गर्नुका साथै आवश्यक पर्दा रगत अभावका कारण कुनै पनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने मानवीय भावनालाई थप बल पुगेको सहभागीहरूले बताएका छन् ।।






