दाङ, २८ जेठ । नेपाल प्रहरी प्रधान कार्यालयले देशभर कार्यरत ५०९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको निर्णयअनुसार गरिएको सरुवामा दाङको ईलाका प्रहरी कार्यालय तुलसीपुरको अपराध नियन्त्रण शाखामा कार्यरत प्रहरी निरीक्षक बिनोदराज खत्रीको ईलाका प्रहरी कार्यालय सिमरा, बारा सरुवा भएको छ । मधेश प्रदेश प्रहरी कार्यालय, समन्वय शाखा जनकपुरधाम, धनुषामा दरबन्दी रहेका खत्री हाल इप्रका सिमरामा काज सरुवामा खटाइएका हुन् । खत्रीको स्थानमा जिल्ला प्रहरी कार्यालय डोल्पाको मानवस्रोत व्यवस्थापन शाखामा कार्यरत प्रहरी निरीक्षक टोपेन्द्र बुढामगर इप्रका तुलसीपुरमा आउने भएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग (कर्मचारी प्रशासन शाखा) ले सार्वजनिक गरेको सरुवा सूचीअनुसार दाङसहित देशभरका जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय तथा अन्य प्रहरी इकाइहरूमा कार्यरत ५०९ जना प्रहरी निरीक्षकको सरुवा गरिएको हो । प्रहरी प्रधान कार्यालयले सरुवा भएका प्रहरी निरीक्षकहरूलाई तोकिएको दरबन्दीमा समयमै हाजिर हुन तथा सम्बन्धित कार्यालयहरूलाई आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएको जनाएको छ । प्रहरी संगठनभित्रको नियमित प्रशासनिक प्रक्रियाअन्तर्गत गरिएको उक्त सरुवापछि नयाँ जिम्मेवारी पाएका प्रहरी निरीक्षकहरूले आगामी केही दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर भई कार्यभार सम्हाल्ने छन् ।।






