काठमाण्डौ, २३ जेठ । नेपालमा मनसुन भित्रिन अझै करिब एक हप्ता लाग्ने मौसमविद्ले बताएका छन् । हाल मनसुन दक्षिण भारतको केरला र तमिलनाडुसम्म पुगेको छ भने बङ्गालको खाडी हुँदै नेपाल आइपुग्न केही समय लाग्ने अनुमान गरिएको छ । आज कोशी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्छ । तराईका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यता पूर्वी र मध्य नेपालका धेरै स्थानमा गएराति र बिहान वर्षा हुँदा मौसम केही शीतल बनेको छ । तर मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा आज र भोलि गर्मी बढ्ने तथा केही स्थानमा तातो लहर चल्ने सम्भावना छ । मौसमविद्का अनुसार यस वर्ष मनसुन औसत मितिभन्दा केही ढिलो भित्रिन सक्ने अनुमान छ । साथै मनसुन अवधिमा औसतभन्दा कम वर्षा र बढी गर्मी हुने तथा केही क्षेत्रमा अतिवृष्टि वा अनावृष्टिको जोखिम रहने सम्भावना पनि रहेको छ ।।






