२०८३ जेष्ठ २२ गते शुक्रवार

एसईईमा चिट चोर्न प्रयोग भएका करिब करोड मुल्य बराबरका मोवाएल नष्ट

फोटो फाईल

काठमाण्डौ, २२ जेठ । सिरहामा माध्यमिक शिक्षा परीक्षा -एसईई)मा चिट चोर्न प्रयोग गरिएको आरोपमा बरामद गरिएका ४ सय ९६ वटा मोबाइल फोन र पाँच वटा स्मार्टवाच नष्ट गरिएको छ । गएको चैतमा सम्पन्न एसइई परीक्षाका क्रममा जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट सात वटा आइफोन, ४८९ वटा विभिन्न कम्पनीका एन्ड्रोइड मोबाइल र पाँच वटा स्मार्टवाच बरामद गरिएको थियो । ती उपकरण परीक्षा सञ्चालन निर्देशिका विपरीत प्रयोग भएको भन्दै हिजो नष्ट गरिएको हो ।

बरामद गरिएका उपकरणको अनुमानित बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको छ । केही अभिभावकले जरिवाना लिएर एक पटकका लागि मोबाइल फिर्ता दिनुपर्ने माग गरेका थिए । तर, सम्बन्धित निकायले परीक्षा मर्यादा कायम राख्नका लागि ती उपकरणको नष्ट गर्ने निर्णय कार्यान्वयन गरेको जनाएको छ । मधेश प्रदेशमा एसइई परीक्षाका क्रममा विद्यार्थीबाट बरामद गरिएका मोबाइल यति ठूलो सङ्ख्यामा नष्ट गरिएको यो पहिलो घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ २२ गते शुक्रवार
प्रतिक्रिया