रोल्पा,२० जेठ । रोल्पामा खोलाको भेलमा परी दुई बालकको मृत्यु भएको छ । जिल्लाको गंगादेव गाउँपालिका–६ रातामाटास्थित खहरे खोलामा मंगलबार साँझ आएको भेलमा परी दुई बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय निम बहादुर खड्काका ७ वर्षीय छोरा गोपाल खड्का र सर्वजित खत्रीका ६ वर्षीय छोरा समिर केसी रहेका छन् ।
प्रहरीका अनुसार आज साँझ करिब ५ः३० बजे विद्यालयबाट घर फर्कने क्रममा उनीहरू खहरे खोलाको भेलमा परेका थिए । घटनाबारे स्थानीयवासीबाट साँझ ५ः४५ बजे इलाका प्रहरी कार्यालय जिनावाङमा सूचना प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय जिनावाङ र इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट समेत प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०८३ जेष्ठ २० गते बुधवार






