काठमाण्डौ, १८ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको विवादास्पद अभिव्यक्तिबारे धारणा बनाउन विपक्षी दलहरूको सर्वदलीय बैठक बस्दैछ । नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मध्यान्ह १२ बजे बैठक बस्न लागेको हो । प्रतिपक्षमा रहेका दलहरूको सर्वदलीय बैठक बस्न लागेको कांग्रेसका सचेतक निश्कल राईले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीको अभिव्यक्ति र समसामयिक विषयमा छलफल गर्ने गरी सर्वदलीय बैठक बस्न लागेको उहाले जानकारी दिनुभयो । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनले नेपाल–भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताउनु भयो । साथै उहाले भारतले नेपालको जग्गा मात्र नभई नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको अभिव्यक्ति दिनु भएको थियो ।
हिजो बसेको संसद बैठकमा नेपालको सिमा मिचिएको बारेमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै उहाले नेपालले पनि भारतको जमिन मिचेको बताउनु भयो । उहाको यस्तो अभिव्यक्ति सार्वजनिक भए पछि चौतर्फी आलोचना भईरहेको छ । यसैको विरोध गर्दै विपक्षी दलहरूले पनि संसदीय अखिलेखबाटै हटाउन माग गरेका छन् ।






