२०८३ जेष्ठ १६ गते शनिवार

दाङमा आजदेखि सुरु भयो विज्ञान लेखन तथा पत्रकारिता सम्बन्धी तालिम

दाङ, १६ जेठ । विज्ञान, प्रविधि तथा नवप्रवद्र्धनका विषयलाई पत्रकारितामार्फत प्रभावकारी रूपमा समाजसम्म पु¥याउने उद्देश्यले विज्ञान लेखन तथा पत्रकारिता सम्बन्धी तीनदिने तालिम आजदेखि दाङको घोराहीमा सुरु भएको छ । विज्ञान, प्रविधि तथा नवप्रवद्र्धन मन्त्रालय र नेपाल पत्रकार महासंघ दाङ शाखाको संयुक्त आयोजनामा सुरु भएको तालिम जेठ १८ गतेसम्म सञ्चालन हुनेछ । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस स्वतन्त्र सेनानी सुशील गौतमले पत्रकारितामा विज्ञान तथा प्रविधि सम्बन्धी विषयवस्तुको महत्व बढ्दै गएको बताउनुभयो ।

समाज रूपान्तरणका लागि राजनीतिक क्षेत्र मात्र पर्याप्त नहुने उल्लेख गर्दै उहाँले विज्ञान र प्रविधिको भूमिका पछिल्लो समय झनै महत्वपूर्ण बन्दै गएको बताउनुभयो । विज्ञान र प्रविधिसँग सम्बन्धित विषयलाई पत्रकारितामा प्राथमिकताका साथ उठाउनुपर्ने गौतमको भनाइ थियो । त्यसैगरी कार्यक्रममा प्लानेटेरियम, वेधशाला तथा विज्ञान संग्रहालयका कार्यकारी निर्देशक सनतकुमार शर्माले विज्ञान पत्रकारिताको विकास र प्रवद्र्धनका लागि तालिम आयोजना गरिएको जानकारी दिदै विज्ञानका विषयवस्तुलाई सरल र प्रभावकारी रूपमा समाजसम्म पु¥याउन पत्रकारहरूको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।

त्यस्तै केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभाग, त्रिभुवन विश्वविद्यालयका प्रमुख प्रा. डा. कुन्दन अर्यालले पत्रकारितामा विषयगत विविधता आवश्यक रहेको बताउँदै पत्रकारहरू राजनीतिक समाचारमा मात्र केन्द्रित नभई विज्ञान, प्रविधि, स्वास्थ्य, वातावरणलगायतका क्षेत्रमा पनि विशिष्टीकृत रिपोर्टिङतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव जेएन सागरले गर्नुभएको थियो । तालिममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको सहभागिता रहेको छ ।

तालिम अवधिभर प्लानेटेरियम, वेधशाला तथा विज्ञान संग्रहालयका कार्यकारी निर्देशक सनतकुमार शर्मा, केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभाग, त्रिभुवन विश्वविद्यालयका प्रमुख प्रा. डा. कुन्दन अर्याल, पत्रकारिता तथा आमसंचार विभाग, रत्नराज्य लक्ष्मी क्याम्पसका विषय विज्ञ ऋषिकेश दाहाल, विषय विज्ञ टंक प्रसाद उप्रेतिले विभिन्न विषयमा प्रशिक्षण दिनुहुने छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ १६ गते शनिवार
प्रतिक्रिया