ठुटोले दाहिने खुट्टा वारपार छेडे्यो

तुलसीपुर ४ कार्तीक
घाँस काट्ने क्रममा रुखबाट खसेर दाङको चुलेसेमा एक जना गम्भिर घाइते भएका छन् । विहान नौ बजे बाख्रालाई घाँस काट्ने क्रममा आँपको रुखबाट खसेर जिङटको ठुटोमा पर्दा तुलसीपुर ९ चुलेसे निवासी रामप्रसाद खराल गम्भिर घाईते भएका हुन । जिङटको ठुटोले दाहिने खुट्टा वारपार छेडेको छ । वारपार छेडेको ठुटोलाई काटेर राप्ती अंचल अस्पताल तुलसीपुरमा ल्याएपनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको आफन्तले बताएका छन् । ठुटो निकाल्नका लागि नर्सिङ होममा केहिबेरमा अप्रेसन गर्ने तयारी रहेको उपचार गराउन गएका आफन्त शालिक कडेलले जानकारी दिए । जटिल प्रकृतिको उपचार दाङमा नहुँदा यहाँका हजारौ सर्वसाधरणले निकै दुःख झेल्नु परेको छ ।
‘विज्ञापनमा सुन्दा अस्पतालले सबै प्रकारको उपचार सेवा गछौ भन्दै फलाक्छन,’ तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीले भने ‘तर खुट्टामा ठुटो बिजेको निकाल्न सक्दैनन् ।’ दाङमा राम्रो अस्पताल नहुँदा यहाँका जनताले उपचारकै लागि ठूलो आर्थिक भार र समय खर्चिनु परेको अध्यक्ष घर्तीले बताए । केहि दिन अघि घोराहीमा फलामको छडले शरिर वारपार छेडेपछि महिलालाई उपचारका लागि काठमान्डौ लगिएको थियो ।

प्रकाशित मिति : २०७५ कार्तिक ४ गते आइतवार
प्रतिक्रिया