काठमाडौ, १३ जेठ । सर्वोच्च अदालतले अदालतहरूमा लागू गरिएको गोला प्रक्रियाद्वारा मुद्दाको पेशी व्यवस्थापन गर्ने विद्यमान प्रणालीलाई परिवर्तन नहुने जनाएको छ। वरियता मिचेर मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश नियुक्त गरेपछि अब गोला प्रणाली पनि हटाउने तयारी गरिएको भन्दै नेपाल बार एशोसियनलगायतका न्यायपालिका सम्बद्ध संस्था तथा व्यक्तिहरुले आपत्ति जनाइ रहेको बेला सर्वोच्च प्रशासनले विकल्प खोज्ने कुनै औपचारिक छलफल वा सोच नभएको प्रष्ट पारेको हो।
विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूमा गोला प्रक्रियाको विकल्प खोजिँदैछ भन्ने खालका समाचारहरू सम्प्रेषण भएको भन्दै सर्वोच्चका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले गोलाको प्रक्रिया कायमै रहने प्रष्ट पार्नुभएको हो ।उहाले अदालतहरूमा गोला
प्रक्रियाद्वारा पेशी व्यवस्थापन सम्बन्धी कार्यविधि निर्देशिका, २०७८ जारी भएबमोजिम नै नियमित रूपमा मुद्दाको पेशी व्यवस्थापन भइरहेको अवस्थामा त्यसलाई नहटाउने जानकारी दिनुभयो । प्रधानन्यायाधीशले नै स्वविवेकमा पेशी तोक्दा विकृति आएको भन्दै चोलेन्द्र शमशेर जबरा प्रधानन्यायाधीश भएका बेला बार र न्यायाधीशकै आन्दोलनका कारण गोला प्रणाली थालिएको थियो।






