एम्वुलेन्स सेवालाई ब्यवस्थित गर्दै उपमहानगर

लक्ष्मण विश्वकर्मा,२९ तुलसीपुर असोज ।
एम्वुलेन्स सेवा सन्चालन तथा व्यवस्थापन सम्वन्धि अन्र्तक्रिया कार्यक्रम आईतवार तुलसीपुरमा सम्पन्न भएको छ । स्वास्थ्य महाशाखा तुलसीपुर उपमहानगरपालिका कार्यालयको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागि भएका तुलसीपुर क्षेत्रका एम्वुलेन्स व्यवसायीहरुले स्थानिय सरकार संग विभिन्न मागहरु राखेका छन् ।

एम्वुलेन्स चालक सुवास रिजालले आफुहरुको सुरक्षाको व्यवस्थापन गरिदिन स्थानिय सरकार संग माग गरेका छन् । उनले आफुहरुले आपतकालिन अवस्थामा जुनसुकै समयमा पनि सेवा दिनुपर्ने भन्दै सुरक्षाको व्यवस्थापन गरिदिन माग गरेका हुन् । त्यस्तैगरी अर्का व्यवसायी मोहन पौडेलले भाडादरको एकरुपकता कायम गर्नुपर्ने माग गरेका छन् ।

त्यस्तैगरी अन्य चाालकहरुले एम्वुलेन्स ठेक्का प्रणालीलाई निरुत्साहित गर्नुपर्ने,एम्वुलेन्समा जिपिए सेवा लागु गर्नुपर्ने,चालकको पारिश्रमिक तोकिनुपर्ने,सडक सन्जाललाई व्यवस्थित गर्नुपर्ने र एम्वुलेन्स दर्ता गर्नुपर्ने,उचित पार्किङको व्यवस्था हुनुपर्ने लगाएतका विषयमा माग गरेका थिए ।

सोहि अवसरमा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले आपतकालिन ऐम्वुलेन्स सेवालाई छिटो छरितो र भरपर्दो सेवा बनाउनका लागी छिटै कार्यविधि तयार गरिने बताएका छन् । त्यस्तैगरी एम्वुलेन्स सेवालाई आधा घण्टामै सेवा दिने गरि आधुनिक प्रविधि संग जोड्ने बताएका छन् ।

उनले उपमहानगर भित्र आईपर्ने आपतकालिन सेवाका प्रहरी, दमकल र ऐम्वुलेन्स सेवा व्यवस्थित गरिने बताएका छन् । महाशाखाका प्रमुख डा. गोर्कण दाहालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महाशाखाका सिअहेव अधिकृत बसन्त कुमार आचार्यले गरेका थिए । कार्यक्रममा तुलसीपुरका एम्वुलेन्स व्यवसायीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७५ असोज २९ गते सोमवार
प्रतिक्रिया