चितवन, १० जेठ । चितवन राष्ट्रिय निकुञ्जमा भ्रमण गर्ने आन्तरिक पर्यटकको संख्या बढेको छ । नेपाली पर्यटक बढे पनि सार्क देश तथा तेस्रो मुलुकका पर्यटकको संख्यामा भने कमी आएको छ । चालु आर्थिक वर्ष ९२०८२र०८३० को वैशाखसम्म २ लाख २६ हजार ८ सय ७६ जना स्वदेशी तथा विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । जसमा १ लाख ३७ हजार २४६ जना नेपाली, १३ हजार ९९२ जना सार्क देशका र ७५ हजार ६३८ जना तेस्रो मुलुकका पर्यटकहरु छन् ।
गत वर्ष वैशाखसम्म कुल पर्यटकको संख्या २ लाख ४ हजार ५०२ रहेकोमा यस वर्ष २२ हजार ३७४ ले बढेर २ लाख २६ हजार ८७६ पुगेको छ ।चालु आर्थिक वर्षको २ महिना बाँकी छँदा गत वर्षभन्दा बढी पर्यटकले निकुञ्ज भ्रमण गर्ने देखिएको छ । गत वर्ष २ लाख ३१ जना ३ सय २९ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए ।
गत वर्ष सार्क मुलुकका १८ हजार ९३३ र तेस्रो मुलुकका ८१ हजार ८९७ जनाले निकुञ्जको भ्रमण गरेकोमा चालु वर्षको वैशाखसम्म सार्क मुलुकका १३ हजार ९९२, तेस्रो मुलुकका ७५ हजार ६३८ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । सार्क देशबाट ४ हजार ९४१ र तेस्रो मुलुकबाट ६ हजार २५९ जना पर्यटक गत वर्षभन्दा कम आएका छन् ।





