२०८३ जेष्ठ १० गते आइतवार

पश्चिममा तातो लहर र मध्य पूर्वमा हावाहुरीसहित वर्षा

काठमाण्डौ, १० जेठ ।  लुम्बिनी र सुदूरपश्चिमका विभिन्न ठाउँमा गर्मी बढ्दा पूर्व र मध्य भेगका धेरै ठाउँमा पानी परेको छ । आज र भोलिको मौसम पनि यस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागको केही ठाउँहरूमा, मधेश प्रदेश लगायत बागमती, गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एक–दुई ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भूभागमा तातो दिन तथा तराई भूभागमा तातो लहरको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मधेश र कोशी प्रदेशको तराई भू–भागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना छ ।

भोलि पनि गण्डकी, बागमती र मधेश प्रदेशको तराई भूभागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ । तराईका विभिन्न ठाउँमा तातो हावा चलिरहेका बेला हिजो दिउँसो र बेलुकी धेरै ठाउँमा पानी परेको छ । सबैभन्दा धेरै सङ्खुवासभामा पानी परेको महाशाखाले जनाएको छ । धादिङ, चितवन, मकवानपुर, रौतहट, सिन्धुली लगायतका ठाउँमा पनि पानी परेको छ । पश्चिम तराईका जिल्लाहरूमा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित भएको छ । दिउँसोपख चर्को घाम र तातो हावाका कारण मानिस बाहिर निस्कन नसक्दा सडक सुनसानजस्तै देखिन थालेका छन् । पश्चिम तराईका धेरै ठाउँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।।

प्रकाशित मिति : २०८३ जेष्ठ १० गते आइतवार
प्रतिक्रिया