२०८३ जेष्ठ ६ गते बुधवार

चुनढुङ्गा उत्खननविरुद्ध तिमिलेका स्थानीय आन्दोलित, प्रशासनलाई बुझाइयो ज्ञापनपत्र

दाङ ५ जेठ । दाङको बङलाचुली गाउँपालिका–६ तिमिले क्षेत्रमा चुनढुङ्गा उत्खननको तयारी भएको खबर सार्वजनिक भएपछि स्थानीयवासी आन्दोलित बनेका छन् । उत्खनन रोक्न माग गर्दै स्थानीयहरुले जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापनपत्र बुझाएका हुन् ।

चुनढुङ्गा उत्खनन रोक्का संघर्ष समितिको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा महाभार क्षेत्रलाई “दाङको वाटर बैंक” का रूपमा उल्लेख गर्दै उत्खननले दीर्घकालीन वातावरणीय संकट निम्त्याउने चेतावनी दिइएको छ । स्थानीयहरुले उत्खनन सुरु भए तिमिले मात्र नभई दाङको उत्तरी भेग नै प्रभावित हुने, पानीका मूल सुक्ने, वन विनाश बढ्ने तथा जिल्लामै सुख्खापन बढ्ने चिन्ता व्यक्त गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले यस विषयमा सम्बन्धित सिमेन्ट उद्योग र गाउँपालिकासँग छलफल गरी आवश्यक पहल गर्ने बताएका थिए ।
ज्ञापनपत्र अघि गाउँमै स्थानीयहरुको बृहत् भेला आयोजना गरिएको थियो । भेलाले चुनढुङ्गा उत्खनन हुन नदिने निर्णय गर्दै त्यसको निर्णय प्रतिलिपिसमेत प्रशासनमा बुझाएको संघर्ष समितिले जनाएको छ ।
ज्ञापनपत्रमा संघर्ष समितिका अध्यक्ष सोभाराम ओली र सचिव बुद्धिराम खत्री को हस्ताक्षर रहेको छ । ज्ञापनपत्र बुझाउने कार्यक्रममा राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य, सदस्य खडानन्द खनाल तथा अखिल छैठौं का जिल्ला सदस्य लक्ष्मण बिक को पनि उपस्थिति रहेको थियो

प्रकाशित मिति : २०८३ जेष्ठ ५ गते मङ्गलवार
प्रतिक्रिया