काठमाण्डौ, ४ बैशाख । वर्षा कम भएसँगै देशैभर गर्मी बढेको छ । केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि पानी नपरेका ठाउँमा गर्मी बढेको हो । अब बिस्तारै गर्मी बढ्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज र भोलि केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने धेरै ठाउँमा गर्मी हुनेछ । आज दिउँसो कोशी प्रदेशका हिमाली र पहाडी भूभागका केही ठाउँहरूमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै ठाउँहरुमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ ।
यस्तै मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी पहाडी र हिमाली भूभागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने सम्भावना रहेको छ । भोलि पनि केही ठाउँमा वर्षासँगै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तापक्रम बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।।


















