बुटवल,३ जेठ । नेपाल भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा आज बुटवलमा सरकार विरुद्ध विरोध प्रदर्शन भएको छ । संघर्ष समितिको अघुवाईमा भएको विरोध प्रर्दशनमा सहभागीहरुले उचित विकल्प र दीर्घकालीन व्यवस्थाबिना वर्षौंदेखि बसोवास गर्दै आएका भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई हटाउन नहुने माग गरेका छन् ।
बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको विरोध प्रर्दशनमा हजारौ भुमिहीन सुकुम्वासीहरुको सहभागिता रहेको थियो । राजमार्ग चौराहाबाट सुरु भएको विरोध र्याली मिलनचोक, बसपार्क र पुष्पलालपार्क हुँदै ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। प्रदर्शनमा विशेषगरी तराईका २२ जिल्लाबाट आएका हजारौँ सुकुम्वासीको सहभागिता रहेको आयोजकले जनाएको छ।
संघर्ष समितिका संयोजक खगेन्द्र पौडेलले सरकारले कुनै विकल्प नदिई गरिब सुकुम्वासी तथा अव्यवस्थित बसोवासीका घरटहरामा डोजर चलाउने काम गरिरहेको भन्दै त्यसको विरोधमा प्रदर्शन गरिएको बताउनुभयो । उहाका अनुसार सरकारले दीर्घकालीन व्यवस्थापनको स्पष्ट योजना नबनाई बस्ती हटाउन थालेपछि देशभरका झण्डै १२ लाख परिवारका करिब ५० लाख नागरिक प्रभावित भएका छन्।


















