काठमाण्डौ, ३१ बैशाख । देशका मध्य र पूर्वी भेगका केही ठाउँमा बिहानपख पानी परेको छ । काठमाण्डौ, सिन्धुपाञ्चोक, नुवाकोट, गोरखालगायतका ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै पश्चिममा पर्वत, म्याग्दी, कास्की, पाल्पा, स्याङ्जा र पूर्वमा ताप्लेजुङ र संखुवासभामा पनि हल्का वर्षा भइरहेको छ । गए राति गण्डकी प्रदेशदेखि पूर्वका पहाडी तथा हिमाली धेरैजसो ठाउँमा पानी परेको छ । पछिल्लो ६ घण्टामा ताप्लेजुङमा सबैभन्दा धेरै ४७।२ मिलिमिटर पानी परेको छ ।
महाशाखाको मौसमी बुलेटिन अनुसार आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही ठाउँहरूमा तथा बाँकी हिमाली र पहाडी भू–भागका थोरै ठाउँहरूमा तथा मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई ठाउँमा मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । भोलिको मौसम पनि यस्तै रहने महाशाखाले जनाएको छ ।।


















