दातृ निकाय र मुख्यमन्त्री बीच भेटवार्ता

असोज २५
मुख्यमन्त्री शंकर पोखरेलसंग आज विश्व वैंकका नेपालस्थित कन्ट्रि डाइरेक्टर फारिस हदाद जर्वोस, बेलायती सहयोग नियोग डिएफआइडिका सुशासन हेर्ने टिम लिडर सिन्थिया रोय,युरोपियन युनियनका नेपालस्थित प्रमुख ओविद्यु, युएनडिपीका सहायक आवासिय प्रतिनिधि यमनाथ शर्मा लगायत दातृ निकायको एक टोलीले भेट गरेको छ ।
टोलीले प्रदेशको विकासको प्राथमिकता, संघीयतालाई कार्यान्वयन गर्ने क्रममा प्रदेशमा हालसम्म भएका काम, समस्या र अबको गन्तव्य बारे जानकारी लिएको छ ।
संघ, प्रदेश र स्थानीय तहको संस्थागत संरचना, जनशक्ति, पूर्वाधार, क्षमता सम्बन्धमा नेपाल सरकार, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अनुरोधमा विश्व बैंक, युएनडिपी, डिएफआइडी तथा अन्य दातृ निकायको सहयोगमा निकट भविष्यमा गर्न लागिएको क्षमता सम्बन्धी आवश्यकताको पहिचान सम्वन्धी सर्वेक्षण तथा अध्ययनको बारेमा जानकारी दिनुका साथै त्यसको प्रभावकारिता र प्रयोगको बारेमा छलफल भयो ।
विश्व बैंकका कन्ट्रि डाइरेक्टर फारिसले विश्व बैंकले यस प्रदेश लगायत अन्य क्षेत्रमा पर्यटन विकासका लागि तयार हुँदै गरेको सहयोग सम्बन्धी आयोजनाका बारेमा मुख्यमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।
टोलीलाई मुख्यमन्त्री शंकर पोखरेलले हाल कार्यान्वयनमा रहेका वैदेशिक सहयोगका आयोजनाहरु संभव भएसम्म प्रादेशिक प्राथमिकता र आवश्यकतालाई समावेश गरी अघि बढाउन आग्रह गर्नुभयो । साथै उहाँले प्रदेशमा सञ्चालन हुने गरी नयाँ आयोजना अघि बढाउँदा प्रदेश सरकारसंग छलफल गरी प्रदेशको सोंच र प्राथमिकतालाई योगदान पुयाउने गरी अघि बढाउन आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २०७५ असोज २५ गते बिहिवार
प्रतिक्रिया