तुलसीपुर, २५ बैशाख । तुलसीपुर दाङ सुनचाँदी व्यवसायी संघले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत माध्यमिक विद्यालय तुलसीपुर–२, बालापुरमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ ।आज शुक्रवार आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत दलित तथा अति विपन्न परिवारका १० जना विद्यार्थीहरुलाई विद्यालय पोशाक सहित शैक्षिक सामग्री वितरण गरिएको हो ।
साथै कक्षा १ देखि ३ सम्म अध्ययनरत अन्य विद्यार्थीहरुलाई पनि स्टेशनरी सामग्री सहयोग गरिएको छ ।संघका अध्यक्ष हरिकृष्ण विकको अध्यक्षता एवं मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रीय वरिष्ठ उपसभापति सुशील बस्नेत प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्नेतले यस्ता शैक्षिक सहयोग कार्यक्रमले विपन्न तथा पहुँच बाहिर रहेका बालबालिकालाई शिक्षातर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
उहाँले विद्यार्थीहरुलाई लगनशील भएर अध्ययन गर्न प्रेरित गर्दै समाजका विभिन्न क्षेत्रबाट हुने सहयोगले शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।सो अवसरमा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्यद्वय लोकबहादुर स्वर्णकार र मदन केसीले बालबालिकालाई अध्ययनमा केन्द्रित हुन आग्रह गर्दै भविष्य निर्माणका लागि शिक्षा नै सबैभन्दा ठूलो आधार भएको बताउनुभयो । उनीहरुले आगामी दिनमा पनि यस्ता सामाजिक सहयोगका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
साथै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक केसी र प्रधानाध्यापक गणेशमान खड्काले विद्यार्थीहरुलाई सहयोग प्रदान गरेकोमा संघप्रति धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरुमा थप उत्साह र हौसला प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । संघका कोषाध्यक्ष लिला बहादुर वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव तुलसीराम सुनारले गर्नुभएको थियो ।


















