२०८३ बैशाख २० गते आइतवार

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै

काठमाण्डौ, २० बैशाख ।  आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा हरेक वर्ष मे ३ तारिखलाई विश्वभर प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाउने गरिन्छ । सन् १९९३ मा युनेस्कोको आयोजनामा अफ्रिकी देश नामिबियाको विन्डहक शहरमा भएको वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापक र स्वतन्त्रताका पक्षधरको सहभागितामा यो घोषणापत्र जारी गरिएको थियो । घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा प्रतिबद्धता जनाइएको थियो । यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवसको नारा ‘शान्तिपूर्ण भविष्यको निर्माण, मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रता प्रवर्द्धन’ रहेको छ ।

दिवसको अवसरमा नेपाली पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासङ्घले अन्तर्क्रियासहित विभिन्न कार्यक्रम आयोजना गरेको छ । यसैबीच नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले दण्डहीनता, सञ्चारमाध्यमको आर्थिक अवस्थामा गिरावट, पत्रकारको पेसागत र भौतिक सुरक्षामा जोखिमजस्ता कारणले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बन्दै गएको बताउनुभएको छ । उहाँले शुभकामना सन्देशमार्फत लोकतान्त्रिक संविधान लागू भएको दशक बितिसक्दा पनि देशमा प्रेस स्वतन्त्रता हननका घटना बढ्दो क्रममा रहेको देखिनु गम्भीर चिन्ताको विषय रहेको बताउनुभएको छ ।।

प्रकाशित मिति : २०८३ बैशाख २० गते आइतवार
प्रतिक्रिया