२०८३ बैशाख १४ गते सोमवार

खानेपानी उपभोक्ता महासंघ लुम्बिनी प्रदेशले बुझायो मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

दाङ, १४ बैशाख । राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ लुम्बिनी प्रदेश समितिले प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष विभिन्न माग राख्दै ध्यानाकर्षण पत्र बुझाएको छ । महासंघका अध्यक्ष प्रदिप गौतमको नेतृत्वमा गएको टोलिले मुख्यमन्त्री आचार्यलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

पत्रमा खानेपानी आयोजना सञ्चालनका लागि प्रयोग हुने विद्युत् महसुलमा विशेष छुट नहुँदा सञ्चालन खर्च अत्यधिक बढेको, वित्तीय संस्थाबाट लिइएको ऋणमा उच्च ब्याजदरका कारण उपभोक्ता समितिहरू आर्थिक संकटमा परेको, सेवामूलक उपभोक्ता समितिलाई आयकरको दायरामा ल्याउँदा थप आर्थिक भार परेको जस्ता समस्या औँल्याइएको छ । साथै, सरकारले लागू गरेका कतिपय ऐन तथा नियमावलीका कारण उपभोक्ता समितिको अस्तित्वमै असर पर्ने अवस्था सिर्जना भएको भन्दै तत्काल माग सम्बोधन गर्न आग्रह गरिएको छ ।

महासंघको पहिलो बैठक सम्पन्न
यसैबीच, महासंघ लुम्बिनी प्रदेश समितिको पहिलो बैठक दाङको देउखुरीमा सम्पन्न भएको छ । ज्ञापनपत्र बुझाउनु अघि अध्यक्ष प्रदिप गौतमको अध्यक्षतामा बसेको बैठकले महासंघमा आबद्ध नभएका खानेपानी संस्थाहरूलाई आबद्ध हुन आह्वान गर्ने निर्णय गरेको गरेको छ । त्यसैगरी बैठकले खानेपानी तथा सरसफाइ क्षेत्रमा देखिएका समस्याहरू समाधानका लागि सरकारसँग सहकार्य गर्दै अघि बढ्ने र प्रदेश समिति गठनमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०८३ बैशाख १४ गते सोमवार
प्रतिक्रिया