काठमाडौँ, १४ वैशाख । बर्सौंदेखि छाप्न बाँकी रहेका १२ लाखप्रति स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ सम्पन्न भएको छ । सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबिच भएको पहिलो चरणको सम्झौता अनुसार उक्त छपाइ सम्पन्न भएको हो । छापिएका लाइसेन्स वैशाख १४ गते औपचारिक कार्यक्रम गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरिने केन्द्रले जनाएको छ । केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले पहिलो चरणको सम्झौता अनुसार १२ लाखप्रति कार्ड छापिइसकिएको जानकारी दिनुभयो । केन्द्रले दोस्रो चरणमा १७ लाखप्रति लाइसेन्स छाप्दै छ, जसको सम्झौता वैशाख ४ गते भएको थियो । १२ लाखप्रति लाइसेन्स छापेको केन्द्रले असार मसान्तसम्म थप १७ लाखप्रति लाइसेन्स छाप्दै छ । जुन पुरानो बाँकी रहेका २९ लाख लाइसेन्सको सङ्ख्या छ ।
साउन १ गतेबाट लाइसेन्स छाप्न बाँकी समस्या सदाका लागि समाधान हुने केन्द्रले जनाएको छ । माग अनुसार लाइसेन्स छाप्न नसक्दा दुई तीन वर्षसम्म कुर्नुपर्ने अवस्था थियो । विगतमा दैनिक चार हजार छापिँदै आएकोमा हाल झन्डै चालिस हजारप्रतिसम्म छापेपछि समस्या समाधान हुने भएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले नतिजामुखी शासकीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले १० प्रमुख सुधारात्मक कार्यक्रम समेटिएको विस्तृत कार्ययोजनासँगै लाइसेन्सको ढिलासुस्ती हटाउन मुद्रण केन्द्रलाई निर्देशन दिएपछि छपाइ तीव्र पारिएको थियो । २०७२ सालमा लागु भएको स्मार्ट लाइसेन्स सुरुकै दिनदेखि छाप्न बाँकी रहँदै आएको थियो । सुरुवाती दिनमा दैनिक माग करिब पाँच हजार रहँदा दैनिक दुई हजार पाँच सयसम्म छाप्ने गरिएको थियो ।।


















