२०८३ बैशाख १३ गते आइतवार

सञ्चार माध्यमलाई कमजोर पार्ने निर्णय तत्काल सच्याउनुपर्छः अध्यक्ष सुवेदी

दाङ, १३ वैशाख । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले सञ्चार माध्यममाथि दबाब सिर्जना गर्ने सरकारी कदमहरू तत्काल सच्याउन माग गर्नुभएको छ । राप्ती प्रेस मञ्चको दोस्रो वार्षिक साधारणसभा तथा नव वर्ष २०८३ को अवसरमा राप्ती गाउँपालिका–५ कालापानी स्थित खैराहामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रेस स्वतन्त्रतामाथि हुने कुनै पनि हस्तक्षेप लोकतन्त्रका लागि गम्भीर खतरा हुने चेतावनी दिनुभयो ।

विशेषगरी निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन वितरणमा गरिएको कटौतीप्रति असन्तुष्टि जनाउँदै उहाँले यसले नागरिकलाई समयमै सूचना पाउने अधिकार कमजोर बनाउने बताउनुभयो । “लोकतान्त्रिक मूल्य, मान्यता र अभ्यासलाई कमजोर बनाउने कुनै पनि कार्य स्वीकार्य हुँदैन,” उहाँले भन्नुभयो, “सञ्चार माध्यमलाई कमजोर पार्ने खालका निर्णयहरू तत्काल फिर्ता लिनुपर्छ ।” उहाँले प्रेस स्वतन्त्रतालाई लोकतन्त्रको मेरुदण्डका रूपमा उल्लेख गर्दै यसको संरक्षणका लागि सबै पक्ष एकजुट हुनुपर्ने धारणा राख्नुभयो ।

राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुनकुमार अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथि हुने हस्तक्षेपप्रति गम्भीर चिन्ता व्यक्त गरेका थिए । उनीहरूले लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिता अपरिहार्य रहेकोमा जोड दिएका थिए ।

त्यसैगरी राप्ती गाउँपालिका–५ का वडा अध्यक्ष देवप्रसाद चौधरीले स्थानीय तहले सञ्चार माध्यमसँग सहकार्य गर्दै नागरिकको सूचनाको अधिकार सुनिश्चित गर्ने बताउनुभयो । नागरिक समाज दाङका संयोजक निमबहादुर थापा, इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख पुष्करसिंह ऐरी, नागरिक समाज देउखुरीका पूर्व संयोजक दामोदर भण्डारी लगायत वक्ताहरूले पनि प्रेस स्वतन्त्रताको रक्षा र पत्रकारहरूको सुरक्षामा राज्य गम्भीर हुनुपर्ने धारणा राख्नु भएको थियो । कार्यक्रम मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सञ्चालन महासचिव ओमप्रकाश गुप्ताले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८३ बैशाख १३ गते आइतवार
प्रतिक्रिया