काठमाण्डौँ, १३ बैशाख । आज र भोलि सबै प्रदेशको पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । आज केही ठाउँको मौसम बदली रहेको छ । त्यस्तै लुम्बिनी प्रदेशको तराई भागका एकदुई ठाउँमा पनि आज मेघ गर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी क्षेत्रमा पनि पानी पर्ने सम्भावना रहेको छ । गएराति कोशी, गण्डकी, बागमती र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको थियो । लमजुङको फलेनीमा सबैभन्दा धेरै ८२.६ मिलिमिटर वर्षा मापन भएको छ । प्युठानको फोप्लीमा ६१.६ मिलिमिटरसम्म पानी परेको महाशाखाले जनाएको छ ।
बागमतीको काभ्रे पनौती खोपासीमा ६४.२ मिलिमिटर वर्षा भएको छ भने लुम्बिनी प्रदेशको रुकुमकोटमा ६८.४ मिलिमिटर वर्षा मापन भएको छ । अहिले देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ । तल्लो वायुमण्डलमा पूर्वी वायुको समेत प्रभाव देखिएकोले केही ठाउँमा पानी परेको महाशाखाले जनाएको छ । आज पनि तराई क्षेत्रमा भने गर्मी कायमै छ । यसबीचमा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका केही ठाउँमा वर्षाको गतिविधि बढ्न सक्ने देखिएकाले पानी परेपछि केही शीतल महसुस हुनेछ ।।


















