२०८३ बैशाख ८ गते मङ्गलवार

तुलसीपुरका विभिन्न बजारमा छट्के अनुगमन, अखाद्य वस्तु बरामद

तुलसीपुर, ८ वैशाख ।  दाङको तुलसीपुर उपमहानगरपालिकामा बजार अनुगमनलाई तीव्रता दिइएको छ । उपभोक्ता हित संरक्षण शाखाको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, इलाका प्रशासन कार्यालय, नगर प्रहरी तथा सञ्चारकर्मीहरूको संयुक्त टोलीले आज वडा नम्बर १६, १७ र १८ का विभिन्न बजार क्षेत्रमा छट्के अनुगमन गरेको हो । अनुगमनका क्रममा किराना तथा खाद्य पसलहरूमा व्यवसाय दर्ता, खाद्य वस्तुको गुणस्तर, म्याद सकिएको अवस्था तथा सरसफाइको स्थितिबारे सूक्ष्म रूपमा जाँच गरिएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख पदम बरालका अनुसार अनुगमनका क्रममा करिब १२ हजार रुपैयाँ बराबरका म्याद नाघेका तथा मापदण्ड विपरीतका अखाद्य सामग्री बरामद गरी नष्ट गरिएको छ । वडा नम्बर १६ अन्तर्गत रावतगाउँस्थित शान्ता किराना पसल र सिरिस किराना पसल दर्ता नगरी सञ्चालनमा रहेको पाइएपछि तीन दिनभित्र अनिवार्य रूपमा व्यवसाय दर्ता गर्न निर्देशन दिइएको छ ।

शान्ता किराना पसलबाट करिब ५ सय रुपैयाँ बराबरका फ्रुटी रोल जफत गरी नष्ट गरिएको छ भने सिरिस किराना पसलबाट पनि मापदण्ड विपरीतका सामग्री फेला परेका छन् । त्यसैगरी वडा नम्बर १७ को मानपुरस्थित सन्तोष किराना पसल पनि दर्ता बिना सञ्चालनमा रहेको भेटिएपछि तत्काल दर्ता प्रक्रिया पूरा गर्न चेतावनी दिइएको छ । उक्त पसलबाट करिब एक हजार रुपैयाँ बराबरका पेयपदार्थ तथा अन्य अखाद्य सामग्री नष्ट गरिएको छ । यसैबीच कालिका एग्रो पसलले खाद्य अनुमति पत्र नवीकरण नगरेको र सरसफाइमा गम्भीर लापरबाही गरेको पाइएको छ । सो पसलबाट करिब १० हजार रुपैयाँ बराबरको ५० किलो सातु बरामद गरी नष्ट गरिएको छ । वडा नम्बर १८ अन्तर्गत हेमन्तपुर क्षेत्रमा रहेका विभिन्न पसलहरूमा पनि अनुगमन गरिएको थियो । प्रतिमा किराना पसल, चटपट जक्सन एण्ड नास्ता पसल, ए.टु.जेड. सप्लायर्स विजौरी तथा स्टाप चिया नास्ता पसलमा निरीक्षण गरी सुधारका लागि आवश्यक निर्देशन दिइएको छ ।

अनुगमन टोलीले आगामी दिनमा यस्ता कमजोरी दोहोरिए कडा कारबाही गरिने स्पष्ट चेतावनी दिएको छ । बजारमा अनुशासन कायम राख्दै उपभोक्तालाई सुरक्षित र गुणस्तरीय खाद्य सामग्री उपलब्ध गराउने उद्देश्यले यस्ता अनुगमनलाई निरन्तरता दिइने जनाइएको छ । अनुगमणका क्रममा तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख राजु श्रेष्ठ, सोही शाखाका खेमकान्त पाण्डे, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख पदम बराल, खाद्य निरीक्षण अधिकारी सुदर्शन गोसाई, नगरपाकिलाका सूचना अधिकारी यज्ञ बहादुर केसी, नगरप्रहरी, इलाका प्रशासन कार्यालयका प्रतिनिधि, पत्रकारलगाएको सहभागिता रहेको थियो ।।

प्रकाशित मिति : २०८३ बैशाख ८ गते मङ्गलवार
प्रतिक्रिया