तुलसीपुर, ७ वैशाख । पश्चिम दाङको शान्तिनगरका बासिन्दाका लागि सानो समस्या पनि कहिलेकाहीँ ठूलो झन्झट बन्थ्यो । कतै पोल ढल्यो अथवा घरको बिजुली बिग्रियो भने समाधानका लागि तुलसीपुरसम्म धाउनैपर्ने बाध्यता थियो । त्यहाँ पुगेपछि पनि कहिले सम्पर्क नहुने, कहिले कर्मचारी ढिलो पुग्ने—यस्तै हैरानीले स्थानीयको दैनिक जीवन प्रभावित हुन्थ्यो । तर अब त्यो बाध्यता अन्त्य भएको छ । शान्तिनगर गाउँपालिका–५ रगैजामा विद्युत कार्यालयको नयाँ भवन उद्घाटन भएसँगै स्थानीयले घरआँगनबाटै सेवा पाउने भएका छन् । स्थानीय विवेक कँवर भन्नुहुन्छ, “पहिले सानो समस्या समाधान गर्न पनि तुलसीपुरबाट प्राविधिक बोलाउनुपर्थ्यो, अहिले त यहीँबाट सेवा पाइने भयो, निकै सहज भयो ।” विवेक जस्तै सयौं स्थानीयको अनुहारमा अहिले सन्तोषको मुस्कान देखिन्छ । वर्षौँदेखि भोग्दै आएको सास्ती अब विस्तारै हट्दै गएको अनुभूति उनीहरूमा छ ।
केही वर्षअघि यही रगैजाबाटै भाडाको घरमा सेवा सञ्चालन हुँदै आएको थियो । तर पछि कार्यालय बबई गाउँपालिकाको हापुरेमा सारिएपछि झनै समस्या थपिएको थियो । अहिले आफ्नै भवन बनेपछि सेवा स्थायित्वको अपेक्षा बढेको छ ।, अर्का स्थानीय गोविन्द बस्नेतले भन्नुभयो- अब दंगीशरण, शान्तिनगर र बबई क्षेत्रलाई यहीँबाट सेवा दिन सके झनै प्रभावकारी हुने विश्वास गरिएको छ । विद्युत महसुल बुझाउन पनि पहिले तुलसीपुर जानैपर्ने बाध्यता थियो । सबैले मोबाइल बैंकिङ प्रयोग गर्न नसक्ने भएकाले आउँदा–जाँदा भाडामै बढी खर्च हुने गुनासो थियो । स्थानीय भुपाल डाँगी भन्नुहुन्छ, “अब यहीँबाट महसुल तिर्न मिल्ने व्यवस्था भए अझ राम्रो हुन्थ्यो ।” यस भवन निर्माणमा स्थानीयको योगदान पनि उत्तिकै महत्वपूर्ण छ । स्थानीय गिरिराज बस्नेतले निःशुल्क जग्गा उपलब्ध गराएपछि भवन निर्माण सम्भव भएको हो । प्रेमधन निर्माण सेवाले २५ लाख ९० हजार ६ सय १६ रुपैयाँको लागतमा आर्थिक वर्ष २०८१र०८२ मा सुरु गरेको निर्माण कार्य २०८३ कात्तिकमा सम्पन्न भएको हो । जग्गादाता बस्नेतले नागरिकलाई सहज सेवा मिलोस् भन्ने उद्देश्यले जग्गा दिएको बताउँदै अब सेवा अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख सुरेश कुमार महताका अनुसार हाल उपलब्ध जनशक्ति र स्रोतसाधनबाट सेवा सुरु गरिएको छ भने आगामी वर्षदेखि विद्युत महसुलसम्बन्धी सेवा पनि यहीँबाट सञ्चालन गर्ने तयारी भइरहेको छ । त्यस्तै, लुम्बिनी प्रदेश डिभिजन कार्यालय प्रमुख दिपक गौतमले ग्रामीण तहसम्म सेवा विस्तार भएपछि उपभोक्ताको गुनासो छिटो समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
यद्यपि, भवन निर्माणसँगै सबै समस्या समाधान भइहाल्छन् भन्ने होइन । अब सेवा कत्तिको छिटो, सहज र प्रभावकारी रुपमा सञ्चालन हुन्छ भन्ने कुरामै यसको सफलता निर्भर रहनेछ । महसुल बुझाउने, प्राविधिक समस्या समाधान गर्नेलगाएतका सेवा यहीँबाट नियमित र भरपर्दो रुपमा सञ्चालन हुन सके मात्रै स्थानीयले वास्तविक राहत महसुस गर्नेछन् । तर अहिलेका लागि भने शान्तिनगरका बासिन्दाका लागि यो भवन केवल संरचना मात्र होइन—वर्षौँको सास्तीपछि आएको सहजता, समय बचत र आशाको उज्यालो बनेर उभिएको छ ।।


















