काठमाडौ, ७ बैशाख । गृहमन्त्री सुधन गुरुङले आफूले विभिन्न शेयर बजारमा गरेको लगानीको स्रोत ऋणबाट जुटाएको स्पष्टीकरण दिनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उहाँले आफ्नो २ करोड ७५ लाख रुपैयाँ शेयर कारोबारबारे उठेको प्रश्नको जवाफ दिनुभएको हो ।
विवादित पृष्ठभूमिका व्यवसायीसँग आफ्नो साँठगाँठबारे सञ्चारमाध्यममा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री गुरुङले बैंकबाट गएको पैसाको हिसाब सबै देखिने बताउनुभएको छ ।
अहिले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका दीपक भट्टसँगको व्यावसायिक साझेदारीबारे स्पष्टीकरण दिँदै उहाँले शेयर किन्दैमा साझेदारी नहुने बताउनुभएको छ । आफ्नो रकमको विषय अनुमानको नभई कागज र बैंक रेकर्डले प्रमाणित गर्ने विषय भएको उहाँको तर्क छ ।
गृहमन्त्री सुधन गुरुङले अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार रहेको पनि बताउनुभएको छ । यस विषयमा पार्टीले गर्ने हरेक निर्णयको पूर्णरूपमा पालना गर्ने र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार रहेको उहाँले उल्लेख गर्नुभएको छ ।उहाँले शहीदहरूको बलिदान र नवयुवा आन्दोलनको मर्मले जिम्मेवार बनाउने भन्दै हल्लामा मात्रै नभई प्रमाणमा उभिन आग्रह गर्नुभएको छ ।


















