काठमाण्डौ, ५ बैशाख । सरकारी अस्पतालहरूमा पनि हप्ताको दुई दिन बिदा हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय सरकारी अस्पतालहरूमा पनि लागू हुने जानकारी दिएको हो । बिदाका दिन अस्पतालमा बहिरङ्ग अर्थात् ओपिडी सेवा बन्द हुन्छ ।
आकस्मिक र अत्यावश्यक सेवाहरू २४ घण्टा सञ्चालनमा रहने मन्त्रालयले जनाएको छ । हप्तामा दुई दिने बिदाका कारण स्वास्थ्य सेवामा पर्न सक्ने प्रभावलाई ध्यानमा राख्दै अस्पतालहरूले सेवा निरन्तर सञ्चालन गर्ने गरी तयारी गरिएको पनि मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
बिदाका दिनमा बिरामीले कुनै समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले नजिकका उपयुक्त अस्पतालमा सहज रूपमा रेफर गर्ने तथा एम्बुलेन्स सेवा तयारी अवस्थामा राख्न समेत मन्त्रालयले अनुरोध गरेको छ । यसैगरी उपलब्ध सेवासम्बन्धी जानकारी अस्पतालका वेबसाइट तथा सूचना प्रणालीमार्फत उपलब्ध गराउन पनि मन्त्रालयले निर्देशन दिएको छ ।।












