२०८३ बैशाख ४ गते शुक्रवार

लुम्बिनीमा नौ महिनामा ३२ प्रतिशत विकास बजेट खर्च

दाङ,४ बैशाख ।  लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ को नौ महिनाको अवधिमा जम्मा ३२ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म ३२ दशमलव ३६ प्रतिशत विकास बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय राप्ती उपत्यका देउखुरीले जनाएको छ । कार्यालयका अनुसार जम्मा खर्च ३४ दशमलव ३१ प्रतिशत मात्र भएको छ । पूँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार बजेट रहेकोमा सात अर्ब ५९ करोड ५७ लाख ४२ हजार नौ सय रुपैयाँ १४ पैसा मात्रै खर्च भएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म चालुतर्फ ३७ दशमलव २७ प्रतिशत बजेट खर्च भएको छ । चालुतर्फ १५ अर्ब ४३ करोड ८५ लाख ३५ हजार बजेट रहेकोमा पाँच अर्ब ७५ करोड ३९ लाख ३९ हजार एक सय ४६ रुपैयाँ ३९ पैसा खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

लुम्बिनी प्रदेश सरकारको चालु र पूँजीगततर्फको खर्च ३४ दशमलव ३१ प्रतिशत भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । प्रदेश सरकारको चालु आर्थिक वर्षका लागि ३६ अर्ब ९१ करोडको बजेट रहेको छब । चालु आर्थिक वर्षको नौ महिनामा १३ अर्ब ३४ करोड ८६ लाख ८२ हजार ४६ रुपैयाँ ६३ पैसा खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । कार्यालयले दिएको जानकारी अनुसार प्रदेशसभाको ३५ दशमलव ९७ प्रतिशत बजेट खर्च भएको छ । जसमध्ये चालुतर्फ २९ दशमलव ९१ र पूँजीगततर्फको पाँच दशमलव ४८ प्रतिशत बजेट खर्च भएको छ ।

प्रदेश लोक सेवा आयोगको ३४ दशमलव ५८ प्रतिशत बजेट खर्च भएको छ । जसमा चालुतर्फको बजेटमा ३६ दशमलव ०६ प्रतिशत र पूँजीगततर्फ १२ दशमलव ३७ प्रतिशत बजेट खर्च भएको छ । प्रदेश योजना आयोगको जम्मा २३ दशमलव ७८ प्रतिशत बजेट खर्च भएको छ । जसमा चालुतर्फको बजेटमा २४ दशमलव ४९ प्रतिशत खर्च भएको छ भने पूँजीगततर्फ १२ दशमलव ५१ प्रतिशतमात्र बजेट खर्च भएको छ । अर्थ विविधतर्फको कुनै पनि बजेट खर्च भएको छैन । स्थानीय तह निकासातर्फ चालु शीर्षकअन्तर्गत ४४ दशमलव ८१ प्रतिशत बजेट खर्च भएको छ । स्थानीय तहमा जाने बजेट चालु शीर्षकअन्तर्गत जाने गरेको छ । जुन चालु तथा पूँजीगतमा खर्च हुन्छ ।

प्रकाशित मिति : २०८३ बैशाख ४ गते शुक्रवार
प्रतिक्रिया