दाङ, ३ बैशाख । दाङको शान्तिनगर गाउँपालिकामा स्थानीय वन महासंघको पालिका स्तरीय भेला सम्पन्न भएको छ । शान्तिनगर स्थानीय वन महासंघका अध्यक्ष भीम खत्रीको अध्यक्षतामा तथा शान्तिनगर गाउँपालिका–७ का वडा अध्यक्षको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय वन महासंघ तुलसीपुर, दंगीशरण, सब डिभिजन वन कार्यालय दंगीशरण, शान्तिनगर गाउँपालिका, विभिन्न सामुदायिक वन उपभोक्ता समूह तथा फेकोफन जिल्ला शाखा दाङका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । भेलाले सरोकारवाला निकायबीच नियमित समन्वय बैठक सञ्चालन गर्ने निर्णय गरेको छ ।
साथै, बढ्दो सुख्खा मौसमका कारण वन डढेलोको जोखिम उच्च बन्दै गइरहेको भन्दै यसको नियन्त्रणका लागि सामूहिक पहल गर्ने सहमति गरिएको छ । डढेलो नियन्त्रणमा सामुदायिक वन उपभोक्ता समूहहरूलाई सक्रिय बनाउने, सबै सामुदायिक वनलाई पालिकामा सूचीकृत गर्ने तथा महासंघको सदस्यता नवीकरण गर्ने विषयमा समेत निर्णय गरिएको छ । त्यसैगरी, वातावरण संरक्षणलाई टेवा पुर्याउने उद्देश्यले विद्युतिय चुलो प्रयोगलाई प्रोत्साहन गर्ने, सामुदायिक वनको विधान तथा कार्ययोजना समयअनुसार संशोधन गर्ने लगायतका विषयमा पनि भेलामा छलफल भई आवश्यक निर्णयहरू गरिएको आयोजकले जनाएको छ । भेलाले वन संरक्षण, दिगो व्यवस्थापन तथा विपद् न्यूनीकरणका लागि सरोकारवाला निकायहरूबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएको छ ।।












